News Details Home / News Details

निजी विद्यालयलाई विद्यार्थी रोक्न धाै धाै परेकाे ताप्लेजुङको नमूना सामुदायिक विद्यालय भानुजन
National . it is the 1st day

निजी विद्यालयलाई विद्यार्थी रोक्न धाै धाै परेकाे ताप्लेजुङको नमूना सामुदायिक विद्यालय भानुजन

ताप्लेजुङ – ताप्लेजुङको फुङलिङ नगरपालिका – ४ अम्बिटारमा रहेकाे भानुजन माध्यमिक विद्यालयको भौतिक संरचना र विद्यार्थी आउने क्रम देख्दा सबै दङ्ग हुने गरेका छन् । केही विद्यालयमा विद्यार्थी नभएर समस्या भएको बेला भानुजन माविमा भने भर्ना अभियान १५ दिनमा नै रोकिन्छ । यो सामुदायिक विद्यालय राजधानीमा रहेको सुविधा सम्पन्न निजी विद्यालयभन्दा कम देखिँदैन । भानुजन माविमा सुविधा सम्पन्न भव्य भवनहरू निर्माण भएका छन् । कक्षाकोठा, खेलमैदान र शौचालय व्यवस्थित तथा आकर्षित छन् । प्रयोगात्मक शिक्षण सिकाइका लागि प्रयोगशाला स्थापना गरिएको छ । सामूहिक इच्छाशक्ति भएमा सामुदायिक विद्यालय पनि भौतिक संरचना र शैक्षिक गुणस्तरमा निजी विद्यालयहरू भन्दा कम हुँदैनन् भन्ने उदाहरण हो भानुजन मावि । स्थानीयवासी तथा नेपाल सरकारको सहयोगमा विभिन्न संस्थाको लगानीमा सुविधा सम्पन्न भवनसहितको विद्यालय निर्माण भएको छ । स्थानीय समुदाय, प्रधानाध्यापक, शिक्षक, अभिभावक र व्यवस्थापन समितिको कुशल नेतृत्वदायी भूमिकाका कारण विद्यालयले भौतिक पूर्वाधार निर्माण गर्न सफल भएको व्यवस्थापन समितिका अध्यक्ष सागर मादेनले बताउनुभयो । सुविधासम्पन्न भवन बनेसँगै पठनपाठन सहज भएको छ । सदरमुकाम आसपास रहेको यस भानुजन माविमा निजी विद्यालयहरुबाट विद्यार्थी जान थालेपछि निजी विद्यालयहरुलाई विद्यार्थी रोक्न हम्मे हम्मे परेको छ । साधारणतर्फ कक्षा १२ सम्म पढाइ हुने यस विद्यालयमा सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, विज्ञान, पर्यटन तथा पर्वतारोहण, शिक्षा, संगीत र व्यवस्थापन विषयको पठनपाठन हुन्छ । अंग्रेजी तथा नेपाली माध्यममा कक्षा १२ सम्म नै पढाइ हुने यस विद्यालयमा २ हजार ४ सय विद्यार्थी रहेका छन् । अझै भन्नु पर्दा यस विद्यालयमा अंग्रेजी माध्यमको पढाइका लागि १५ दिन मात्र भर्ना खोलिने गरेको प्रधानाध्यापक किशोर राईले बताउनुभयो । विद्यालयमा पछिल्ला ६ वर्ष यता सरकारी, गैरसरकारी र नेपाल सरकारको सहयोग जुटाएर करिब २० करोड रुपैयाँकाे लागतमा विभिन्न भवन, पर्खाल, इन्जिनियरीङ उपकरण, कम्प्युटर तथा आइसिटी उपकरण, वाद्यवादन सामग्रीहरुसहित सुरक्षित भवन निर्माण भएको प्रधानाध्यापक राईले बताउनुभयो । समुदायको एकता र सरोकारवाला निकायको निरन्तर सहयोगका कारण विद्यालय यो स्थानमा आइपुगेको उहाँले बताउनु भयो ।

0 Comments

Leave A Comment

Sing in to post your comment or singup if you don’t have any account.